एजेन्सी । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमित संख्या ३ लाख १४ हजार ८ सय ३५ जना थपिएपछि कुल संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६ सय ५७ जना पुगेको छ ।
भारतमा कोरोना संक्रमण सुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका यो पहिलो पटक हो । कोरोना माहामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।
भारतमा बुधबारुसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार ४ सय २८ रहेको छ । यहाँ हालसम्म १ करोड ३४ लाख ५४ हजार ८ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।
सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३ सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड २० लाखभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार ३ सय ९५ जना कोरोना संक्रमित भएका २ सय ७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना सुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ । रासस