अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पतालको अपिल

चितवन । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने जनाइएको छ । अपिलमा भनिएको छ, ‘अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौं ।’ अस्पतालमा सेवा लिन आउँदा जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड संक्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

यो अस्पताल संघीय अस्पताल हो । यहाँ १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । यहाँ दैनिक २ हजारभन्दा बढीसम्म बिरामी उपचारका लागि आउने गरेको तथ्यांक छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित २ सय १० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

संक्रमितमध्ये १ सय ८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिएका छन् । उनका अनुसार कारोना संक्रमणबाट १ सय १४ जनाको ज्यान गइसकेको छ । रासस

कमेन्टहरु
Loading...