बालबालिकामा ज्वरो आउनेक्रम बढेपछि…

पछिल्ला दिनमा बालबालिकामा ज्वरो आउनेक्रम बढेसँगै अभिभावक चिन्तित बनेका छन् ।

अस्पताल एवं स्वास्थ्यचौकीमा रुघाखोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम पनि उत्तिकै बढेको छ । विद्यालयमा समूहगतरुपमा नै विद्यार्थीलाई ज्वरो आउनेक्रम बढेपछि अभिभावक थप चिन्तित बनेका हुन् ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका– ७ स्थित शुक्ला आधारभूत विद्यालयमा एक सातअघि विद्यालयका १५ विद्यार्थीलाई एकैपटक ज्वरोको समस्या देखिएको थियो ।

विद्यालय प्रशासनबाट एकैपटक १५ जनालाई ज्वरो आएको जानकारी नगरपालिकाको शिक्षा शाखालाई आएसँगै यस सम्बन्धमा तत्काल स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराइएको शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिए । उनका अनुसार ज्वरो आएका विद्यार्थीको पिसिआर परीक्षणका लागि स्वास्थ्य शाखाले चासो देखाए पनि केही दिनपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको जानकारी आएको थियो । नगरपालिकाभित्रकै खैरेनी माध्यमिक विद्यालयमा करीब एक महीनाअघि एक शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्ला दिनमा शुक्लागण्डकीका क्षेत्रभित्रका केही विद्यालयमा बालबालिकालाई ज्वरोलगायतका स्वास्थ्य समस्या देखिन थालेको फाट्टफुट्ट सुनिने गरे पनि औपचारिकरुपमा भने त्यस्तो जानकारी नआएको उनले बताए ।

नगरपालिकाका स्वास्थ्य चौकी एवं केन्द्रमा पछिल्ला दिनमा रुघाखोकी तथा ज्वरोका समस्याका बिरामी भने बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । यस समयमा मौसमी रुघाखोकी तथा ज्वरो पनि आउनसक्ने भएकाले सजग रहन र विद्यार्थी तथा शिक्षकमा ज्वरोलगायतका समस्या भएमा आफूहरूलाई तत्काल खबर गर्न भनेको उनले बताए ।

पछिल्ला दिनमा कास्की जिल्लाका साथै आसपासका जिल्लाबाट रुघा, खोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम दिनप्रतिदिन बढिरहेको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका अधिकृत कृष्ण पौडेलले जानकारी दिए । बिरामी हुनेमा अधिकांश स्कुले विद्यार्थी तथा अन्य बालबालिका रहेका छन् ।

दमक– कोभिड– १९ को सङ्क्रमण फैलिनसक्ने भन्दै झापाको दमकका विद्यालय एक साताका लागि बन्द गरिएका छन् । जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट समितिले जिल्लाको दमक, बिर्तामोड र काँकडभिट्टाका विद्यालय एक साताका लागि बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा बसेको बैठकले ती स्थानमा वैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको जनाइएको छ । यसैबीच दमकमा स्थानीय सरकारले यही वैशाख १४ सम्म विद्यालय नखोल्न निर्देशन गरिएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

उहाँले सूचना निकालेर पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाइरसको असर स्थानीय क्षेत्रमा पर्नसक्ने जोखिम देखिएकाले त्यसका लागि सावधानीस्वरुप तत्काल दमकका विद्यालयको नियमित पठनपाठन कार्य बन्द गरी वैकल्पिक विधिबाट शिक्षण कार्य गर्न निर्णय गरिएको उल्लेख छ ।

कमेन्टहरु
Loading...