काठमाडौं । नेकपा एमालेकी नेतृ देवी ओलीले स्पष्टीकरण बुझाएकी छिन् । एमालेको तर्फबाट कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य समेत रहेकी ओलीलाई प्रदेश प्रमुख महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएको थियो ।
सोही स्पष्टीकरणको जवाफमा नेतृ ओलीले आफूले झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको बताएकी हुन् । आफू झुक्किएर शाहीलाई विश्वासको मत दिने पक्षको लाइनमा उभिएको उनको दावी छ ।
‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउने बित्तिकै फर्किएर मुख्यमन्त्री मा.महेन्द्रबहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी (नेकपा एमाले) को प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप (निर्देशन) अनुसार नै मतहान गरेको स्पष्ट गर्दछु ।’ नेतृ ओलीद्वारा पेश गरिएको स्पष्टीकरणमा भनिएको छ, ‘यसको प्रमाण रेकर्ड संसद सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु । यसमा कोही पनि भ्रममा नपर्न समेत अनुरोध गर्दछु ।’
नेतृ ओलीले आफ्नो पार्टी नेकपा एमालेको संसदीय दलको नीति, निर्णय र ह्वीप (निर्देशन) प्रति सधैं प्रतिबद्ध रहेको समेत बताएकी छिन् । पार्टीको प्रदेश संसदीय दलको ह्वीप अनुसार नै आफूले मतदान गरेको समेत नेतृ ओलीले आफ्नो स्पष्टीकरण पत्रमा दावी गरेकी छिन् ।