बाँकेमा वैशाख ९ गतेबाट राजमार्ग तथा विमानस्थल बाहेक सबै कुरा बन्द हुने

बाँके । बाँकेमा वैशाख ९ गतेबाट राजमार्ग तथा विमानस्थल बाहेक सबै कुरा बन्द हुने भएको छ । जिल्लामा पछिल्लो केही समय यता कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गएपछि स्थानीय प्रशासनले राजमार्ग तथा विमानस्थलबाहेकका सबै कुरा बन्द गर्ने निर्णय गरेको हो ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले वैशाख ९ गतेबाट लकडाउन जस्तै प्रतिबन्ध लगाउने निर्णय गरेको जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको दर जिल्लामा तीव्र रुपमा बढिरहेको र त्यससंग जुध्न अन्य विकल्प नदेखिएपछि तत्कालका वैशाख ९ गतेबाट लागि १ हप्तासम्म विमानस्थल तथा राजमार्ग बाहेक अन्य क्षेत्रमा प्रतिबन्ध लगाउनुपरेको गेलालले बताएका छन् ।

जिल्लाभरी नै कडा लकडाउन गर्ने कि अन्य कुन–कुन क्षेत्रमा लकडाउन गर्ने भन्ने विषयमा बुधबार निर्णय हुने उनको भनाई छ । विमानस्थल तथा राजमार्ग बाहेक जमुनाहा नाका समेत खुला हुने भएको छ ।

जमुनाहा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई सम्बन्धित स्थानमा पु¥याउने व्यवस्था मिलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमितको दर बाँकेमा पछिल्लो केही दिन यता तीव्र रुपमा वृद्धि भएको छ । हिजो सोमबार एकैदिन मात्रै जिल्लामा ३ सय २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...