काठमाडौं । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।
यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ ।
यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा ९ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ ।
हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै चार अंक जोडेको छ । नेदरल्याण्डले २ मध्ये १ खेलमा जित तथा १ मा हारका साथ २ अंक जोड्दै दोस्रो स्थानमा छ । यस्तै मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ । रासस