संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय गरेको हो ।

भारत तथा तेस्रो मुलुकबाट फर्केर प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिएका छन् । ‘प्रदेशमा रहेका कोरोना हब अस्पताल र सम्पूर्ण अस्पतालमा कोरोनाका बिरामीको उपचार व्यवस्थापनका लागि पूर्ण तयारीमा रहनसमेत निर्देशन दिने निर्णय भएको छ ।’ उनले भने, ‘दोस्रो लहरको कोरोना संक्रमण बढेकाले त्यसको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ ।’

सामाजिक विकासमन्त्री केसीले कर्णालीका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न सरकार निरन्तर लागिपरेको बताएका छन् । यो सिजनमा भारतबाट कर्णाली फर्कने नागरिकको लहर चलेकाले प्रवेशद्वारमा जाँचमा कडाइ गर्ने र लक्षण नदेखिएका संक्रमित व्यक्तिलाई सम्बन्धित गाउँपालिकामा सहजै पु¥याउन प्रभावकारी समन्वय र सहकार्यको भूमिका खेल्ने उनको भनाई छ ।

डा खड्काका अनुसार कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापकरूपमा अगाडि बढाउने र सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रुलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न लगाउन बस व्यवसायी कम्पनीलाई समेत अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । रासस

कमेन्टहरु
Loading...