पोखरामा कोरोना उकालो लागिरहँदा महानगरमा छैन आइशोलेसन सेन्टर

रिना थापा

पोखरामा कोरोना संक्रमणको दर दिनप्रतिदिन उकालो लागिरहेको छ । पछिल्लो समय बालबालिकामा संक्रमण देखिएपछि ‘यूके भेरियन्ट’ भएको विज्ञहरुको आशंका छ ।

यस समाचार तयार पार्दासम्म आज महानगरमा ४५ कोरोना संक्रमित थपिएका छन् भने १ को मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार कास्कीमा सक्रिय संक्रमितको संख्या ४ सय ५५ पुगिसकेको छ ।

कोरोनाको दोस्रो लहर झनै भयावह हुने आंकलन गरिएकाबेला महानगरको तयारी भने फितलो छ । पहिले तयारी अवस्थामा राखिएका क्वारेन्टीन र आइशोलेसन सेन्टर अहिले छैनन् ।

पोखरा महानगर स्वास्थ्य शाखाका प्रमुख हेमन्त शर्माले कोरोना कहर घटेसँगै आइशोलेशन हटाएको बताउँछन् । ‘पछिल्लो समय १–२ जनाको दरमा संक्रमण देखिएपछि उनीहरु होम आइसोलेशनमै बसे’ शर्माले भने, ‘विस्तारै अवस्था सामान्य हुँदै गएपछि आइशोलेसन हटाएको हौं ।’ त्यस्तै, निजी अस्पतलमा पनि आइशोलेसको व्यवस्था हुन थालेपछि महानगरले हटाएको उनले उल्लेख गरे ।

होम आइसोलेशनमा बस्ने वातावरण नभएका संक्रमितलाई सरकारी अस्पतालले सेवा दिने शर्माले बताए । ‘महानगरमा निशूल्क एम्बुलेन्स सेवा छ, सरकारी अस्पतालले निशूल्क आइसोलेसनमा राख्छ’, उनले भने, ‘संक्रमितको संख्या ह्वात्तै थपिए महानगरले पुनः आइशोलेसनको व्यवस्था गर्छ ।’

पछिल्लो समयलाई मध्यनजर गरिरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भने स्थानीय तह तयारी अवस्थामा रहनुपर्ने बताउँछ । कोरोना पोखरामा उकालो लागिरहेको बताउँदै निर्देशनालयका सूचना अधिकारी भोजराज गौतमले जिल्लादेखि पालिकासम्मका निकाय तम्तयार रहन्ुपर्ने बताए ।

महानगरले कोरोनाको सुरुवाती कालमा विभिन्न स्थानमा आइसोलेसन निर्माण गरेको थियो । महानगरको मातहतमा कृषि तालिम केन्द्र मालेपाटनमा ४६ बेडको आइसोलेशन उपलब्ध थियो । त्यस्तै, महिलाका लागि महानगरले नदीपुरस्थित प्रयोगमा नआएको अस्पतालमा २५ बेडको आइशोेलेसन र क्वारेन्टिन निर्माण गरेको थियो ।

यसैगरी, लेकसिटी अस्पतालमा १ सय बेडको क्वारेन्टीन तयारी अवस्थामा राखेको थियो । संक्रमण दर घटेसँगै उक्त स्थानबाट आइशोलेसन हटाउन भनिएपछि महानगरले सोही बमोजिम गरेको हो । महानगरका अनुसार आइशोलेसन स्थान आफ्नो स्वामित्वमा नभएका कारण हटाइएको हो ।

हाल सरुवा रोग अस्पतालमा लेखनाथमा ५० बेड र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४० आइसियू बेड उपलब्ध छ । कोरोना कहरका दौरान सरकारले सरकारी अस्पतालमा बेड कम भएपछि निजी अस्पताललाई कोरोना उपचारको अनुमति दिएको थियो ।

जसअनुरुप प्रदेश सरकारले पोखरा महानगरपालिकाभित्र, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, फिस्टेल हस्पिटल, जिएमसी मेडिकल कलेजलाई शूल्क लिएर उपचार गर्न दिएको छ ।

कमेन्टहरु
Loading...