काम छाडेर व्यवसायी सम्पर्कविहीन, ट्र्याक खोल्ने कार्य अघि बढ्न सकेन

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतमा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पछि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न सकेको छैन । आगामी २ वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्र्याक पूरा हुन सकेको छैन । ट्र्याक खुलाउने क्रममा गत चैत २५ गत कुश्मा नगरपालिका– ५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एस्काभेटर खसेपछि काम रोकिएको हो ।

सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सो सडकको ट्र्याक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एस्काभेटर खसेको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख सुबोध देवकोटाले पर्वत खण्डमा मोदीबेनीको करीब ५ सय मिटर ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिएका छन् । यही वैशाखभित्रै सक्ने लक्ष्य रहेको जानकारी दिँदै उनले भने, ‘छिट्टै कालोपत्रका लागि काम अघि बढाउने योजना हो । मेसिन खसेपछि काम रोकिएको छ ।’ काम कहिले सुरु गर्ने भन्ने टुंगो लागिनसकेको उनले बताए ।

करिडोरअन्तर्गत जिल्लामा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमी कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको उनको भनाई छ । झण्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सो कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताएका छन् ।

ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्र्याक खोल्न ढिलाई भएको थियो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि १ अर्ब २३ करोड विनियोजन भएको छ । विसं २०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सो कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी–फलेबास–ढिकसम्मकै केही भागको ट्र्याक अझै खोल्न सकेको छैन ।

कन्स्ट्रक्सनका प्रतिनिधि दीपक रैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने जानकारी दिएका छन् । सडकले दक्षिणका एक नगरपालिका र तीन गाउँपालिकाको बस्ती जोड्छ । विसं २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर विसं २०६४ मा बागलुङतर्फ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पु¥याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा विस्तार गरिएको थियो ।

हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकतासाथ विस्तार गरिएको आयोजनाले जनाएको छ । सडकअन्तर्गत मोदीवेणी र सेतीखोलामा मोटरेबल पुल निर्माण भइसकेका छन् भने लमायखोलामा पुल निर्माण प्रक्रियासमेत अघि बढेको छ । रासस

कमेन्टहरु
Loading...