पुर्व फुटबल खेलाडी, तथा एचआइभी एड्स संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहणको तयारीमा

खर्च जुटाउदै श्रेष्ठ, अहिले सम्म करिब तिन लाख संकलन
विजय नेपाल
पोखरा, ७ माघ/आजभन्दा १० वर्षअघि म एचआइभी एड्स सँक्रमित हुँ’ भनेर सार्वजनिक हुँदा गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने संकल्प गरेका थिए । उनको अहिले उमेर ५० कटेको छ भने एचआईभी सँक्रमित भएरै बाँचेको १९ वर्ष पुग्यो । उमेर घर्किदै जाँदा पनि उनमा उत्साह मरेको छैन । सगरमाथा आरोहणजस्तो साहसिक कदम उठाएका उनी भन्छन्–‘आर्थिक सहयोग नपाए घरबारी बेचेरै भए पनि संकल्प पूरा गर्छु ।’ एचआइभी र लागुऔषधिबिरुद्ध सचेतनाका लागि १० वर्षदेखि लागिपरेका उनै गोपाल श्रेष्ठ चिरपरिचित नाम हो ।

यससँग सम्बन्धित विभिन्न संघसंस्थालाई आफूलाई सहयोग गर्न आग्रह गर्दा पनि बेवास्ता भएपछि उनी अहिले आरोहणका लागि लाग्ने ठूलो रकम संकलनका लागि एकल अभियानमा जुटेका छन् । पोखरामा सोमबार पत्रकारसामु उनले आगामी सन् २०१५ को मार्च–अप्रिलमा सगरमाथा आरोहण गर्ने बताए । आफ्नो यस अभियानले एचआइभी सँक्रमितहरुको मनोबल उचो राख्न मद्धत मिल्ने उनको विश्वास छ । यदि उनको सफल आरोहण भए विश्वमै पहिलोपटक एचआइभी एड्स सँक्रमित भएको डिस्क्लोज आरोही सर्वोच्च शिखरमा पाइला टेकेको रेकर्डसमेत कायम हुनेछ ।

पुर्व फुटबल खेलाडी, तथा एचआइभी एड्स संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहणको बारेमा जानकारी दिदै विचमा
पुर्व फुटबल खेलाडी, तथा एचआइभी एड्स संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहणको बारेमा जानकारी दिदै विचमा

आरोहणका लागि लाग्ने करिब १७ लाख रुपैयाँ संकलनका लागि उनी एक्लो प्रयासमा जुटेको बताउँछन् । त्यसैले उनले एड्सबिरुद्ध विश्व अभियान कार्यक्रममा ऐक्यबद्धता जनाउनको लागि विश्वभरका सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरु, नागरिकसमाजलगायत सबै क्षेत्र र वर्गको व्यक्तिहरु एकजुट भइ आफ्नो अभियानलाई सहयोग गर्न आग्रह गरेका छन् । हालसम्म केही स्थानबाट सहयोग नभएको बताए । आरोहण मिति नजिकिँदै जाँदा आवश्यक रकम संकलन नभए पनि आपूm घरबारी बेचेरै सगरमाथा समिटमा पुग्ने दृढ संकल्पमा छन् ।

गोपालले सगरमाथा आरोहणको तिथिका लागि एचआइभी सँक्रमणको बढ्दो दरलाई घटाउँदै लैजाने सहस्राब्दी विकास लक्ष्यअन्तर्गत सन् २०१५ लाई रोजेको बताए । सन् २०११–१५ सम्मका लागि तय गरिएको एचआइभीको नयाँ सँक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔं भन्ने मूलनाराका साथ ०१५ मा स्टेप अप क्याम्पेन मनाइँदैछ । आफ्नो यस अभियानले सम्पूर्ण एचआइभी सँक्रमितप्रति हुने भेदभाव र नकारात्मक दृष्टिकोण हटेर जाने उनले बताए ।

सन् १९६४ मा पोखरामा जन्मिएका श्रेष्ठ किशोर उमेरमा लागु औषधमा फँस्नेक्रममा सुइँ साटासाट गर्दा ३० वर्षको उमेरमा एचआइभी एड्स सँक्रमित हुन पुगेका थिए । आफू सँक्रमित भए पनि उनी कहिल्यै हतोत्साही भएनन् । बरु आफूजस्तै रोगीहरुको आत्मविश्वास बढाउने र एचआइभी एड्स र लागुपदार्थ प्रयोगबिरुद्धमा विभिन्न अभियान चलाए । श्रेष्ठको अर्को परिचय हो, पूर्वफुटबल खेलाडी । चालीसको दशकतिर ए डिभिजन क्लबमा रही फुटबल खेलका उनले फ्रेण्ड्स क्लबलाई बी डिभिजन हुँदै ए डिभिजनमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सामाजिक काम भनेपछि हुरुक्कै हुने उनले तत्कालीन सिंहनाथ गणबाट फुटबल खेलेका थिए । सुरुवाती दिनमा वैदेशिक रोजगारका लागि साउदी अरेविया गएका उनी हङकङ, ताइवान, सिंगापुर, जापान, इटालीलगायतका देशको भ्रमण पनि गरिसकेका छन् । गोपालले अघिल्लो वर्ष आफू आरोहणका लागि फिट छु वा छैन भनी स्वयं परीक्षण लिन थोरङ् ला पास गरेको सुनाए । जसमा उनी अन्यको तुलनामा अब्बल ठहरिए । त्यसबाट पनि आफूमा थप उत्साह भरिएको उनले पत्रकारसामु सुनाए ।

कार्यक्रममा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य, नागढुंगा क्लब पोखराका अध्यक्ष विनोद लामिछाने लगायतले गोपालको यस अभियानको प्रशंसा गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । सन् २००२ मा गोपालसहित अप्सरा कोइराला, मनोज गुरुङ, सरेश लामा, किरण बुढाथोकीले डिस्क्लोज भएका थिए ।

कमेन्टहरु
Loading...