करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बाग्लुङ । कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल १० किलोमिटर खण्ड मर्मतको काम सुरु गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु गरिएको हो ।

चैतको दोस्रो सातादेखि सुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । करिडोरमा खसेको पहिरो पन्छाउने काम सुरु गरिएको इन्जिनियर सुरेन्द्र गौतमले बताएका छन् । २ वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।

‘ट्र्याक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो ।’ इन्जिनियर गौतमले भने, ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले ५ करोडको लागतमा १० किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम सुरु गरिएको गौतमले बताएका छन् । लामा÷आइएस÷एसी जेभीले करिडोर मर्मतको जिम्मेवारी लिएको छ ।

२ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउने छ । १३ हजार १ सय ३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६ सय २२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ । योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कङ्क्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनियर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । ‘बजेट थपिँदैन भन्नुभएको छ, मजदूर प्रशस्त रहेकाले काम धमाधम भइरहेको छ । कम्पनीका सञ्चालक दीपक अदैले भने, ‘तोकेकै समयमा काम सक्छौं ।’

राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको १० किलोमिटर खण्डमा कैयौं ठाउँमा अवरोध छ । बिहीबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । ‘मालढुंगाबाट काम सुरु भएको छ, बढीमा ७ किलोमिटरमा यस वर्ष काम हुन्छ ।’ गौतम भने ।

निरन्तर वर्षाले किसान उत्साहित

निरन्तरको खडेरीले आत्तिएका किसानले दुई दिनको वर्षापछि राहतको महसुस गरेका छन् । हिउँदेबाली भित्र्याएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए । शुक्रबार र शनिबार बाग्लुङ आसपासका क्षेत्रमा वर्षा भएपछि किसानले राहतको सास फेरेका हुन् । पानी परेसँगै किसानले खेतबारीमा मकै लगाउन सुरु गरेका छन् । ‘हिजो गोरु नारियो, पानी परेपछि अब बाँझो बारी जोतिन्छ ।’ बागलुङको बलेवाका किसान लालप्रसाद शर्माले भने, ‘समयमा पानी परेको भए यतिबेला मकै उम्रिसकेका हुन्थे, ढिलै भए पनि बारीमा मकै लगाउँदैछौं ।’
वर्षमा ३ खेती हुने बागलुङका फाँटमा यस वर्ष ढिला गरी मकै लगाइएको छ । सिँचाइको सुविधा भएका फाँटमा लगाइएको मकैसमेत लामो खडेरीका कारण बिरुवा ओइलिएका थिए । पानी परेसँगै सिँचाइ असुविधा रहेका खेतबारीमा समेत किसानलाई मकैलगायतका बाली लगाउन सहज भएको हो । चैते धान रोप्ने किसानका लागिसमेत सहज भएको किसान बताउँछन् ।

अक्षयकोषका लागि रकम हस्तान्तरण

उच्च अदालत बागलुङ बार एसोसिएसनका पूर्वाध्यक्ष अधिवक्ता राम शर्माले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन् । गण्डकी प्रदेशभर सुशासनको क्षेत्रमा काम गर्ने १ पत्रकार र मानवअधिकारका क्षेत्रमा काम गर्ने १ अधिकारकर्मीलाई पुरस्कृत गर्नेगरी स्थापना गरिएको ‘हेम चन्द्र स्मृति कोष’ का लागि शर्माले रकम हस्तान्तरण गरेका हुन् ।

शर्माले माता हेमकला र पिता चन्द्र शर्माको स्मृतिमा कोष स्थापना गरेका हुन् । पत्रकार महासंघ बागलुङमा ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका शर्माले पहिलो चरणमा २ लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए । हरेक २ वर्षमा अक्षयकोषको ब्याजबाट प्राप्त रकमले पत्रकार र अधिकारकर्मीलाई पुरस्कृत गरिनेछ ।

‘एक ल्यापटप पत्रकारका साथ’ अभियान

नेपाल पत्रकार महासंघले सही सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशील पत्रकारका हातहातमा प्रविधि पु¥याएर सही सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सही सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव विजय रानाले बताएका छन् ।

क्रियाशील पत्रकारलाई आवश्यक उपकरणको व्यवस्थाका लागिसमेत पत्रकार महासङ्घले पहल गर्ने भएको छ । ‘क्यामेरा, रेकर्ड, ल्यापटप जस्ता सामग्रीको अभावले पत्रकार सही सूचना दिनबाट नचुकून् ।’ अध्यक्ष कँडेलले भने, ‘हामीले सशक्त पत्रकार बनाउने अभियान थाल्नेछौं ।’ बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ । ‘निवर्तमान कार्यसमितिले हामी सबैको रहर पत्रकार महासङ्घको घर अभियान चलायो ।’ कँडेलले भने, ‘अब घर पछिको रहर सही सूचनाका लागि पत्रकारका हातमा उपकरण आवश्यक छ ।’ रासस

कमेन्टहरु
Loading...