भारतमा एकै दिनमा २ लाख ६१ हजार संक्रमित, १५ सयको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकै दिनमा २ लाख ६१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

‘एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक हो ।’ एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ५ सय १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको संख्या १ लाख ७७ हजार १ सय ५० पुगेको देखिएको छ ।

त्यसैगरी कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या भने १८ लाख १ हजार ३ सय १६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ४ सय २३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।

योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या १ करोड २८ लाख ९ हजार ६ सय ४३ पुगेको छ । भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३ सय ९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४ सय १६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सिलले उल्लेख गरेको छ । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५ सय ९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...