तनहुँ उद्योग वाणिज्य संघका अध्यक्षमा श्रेष्ठ विजयी

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६ औं महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका ७ वटा बजार एकाइका गरी कूल १ हजार ९ सय ५० मतदाता रहेकामा श्रेष्ठ ८ सय ६ मत ल्याएर विजयी हुनभएको हो ।

उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६ सय ६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १ सय ४१ बढी मत ल्याएर विजयी भएका हुन् । सो अवसरमा २३ मत बदर भएको थियो । अध्यक्ष पदका मिश्र र श्रेष्ठ २ जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो ।

अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका थिए ।

सबैभन्दा बढी मत रहेको दमौलीमा १ हजार ८५, आँबुखैरेनी ३ सय ४७, डुम्रे २ सय ६१, थर्पु १ सय २१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य संख्या रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिएका छन् । संघको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो ।

संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एसोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् । रासस

कमेन्टहरु
Loading...