म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो ।

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौं आन्दोलनकारी अहिले बन्दी भएका छन् । तीनै हजारौं बन्दीमध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् ।

म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको अवसरमा कैदी बन्दीलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीलाई रिहा गर्न लागिएको हो । गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौं गिरफ्तार भएका छन् भने सयौं घाइते भएका छन् । त्यसैगरी ७ सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीको भनाई छ ।

आन्दोलनमा लागेको आरोपमा झण्डै १ हजार बालबालिकालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ । शान्तिको बाटो रोज्न राष्ट्रसंघलगायतका निकाय र मुलुकले आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटना भइरहेको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ । तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शिर्ष नेतालाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । रासस

कमेन्टहरु
Loading...