बाँके । बाँकेमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना संक्रमणको दर र मृत्युु दर तीव्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शैयाको आइसियु तथा ३० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाले जानकारी दिएका छन् । उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।
एक संक्रमितको निधन
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत १ जना संक्रमितको आज बिहान निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा निधन भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज बिहान १ बजेर २७ मिनेटमा निधन भएको हो । रासस