पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदार बन्न तयार रहेको बताउएका छन् ।
अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको नवलपुरको देवचुली उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग आज आयोजित अन्तरक्रियामा उनले देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि नगर्न तीनवटै तहका सरकारसँग आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घ स्थापना कालदेखि नै पोखराको विकास साझेदार भएको उल्लेख गर्दै उनले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।
नवलपुरको समृृद्धिसँग सिङ्गो गण्डकीको समृद्धि जोडिएको उल्लेख गर्दै अध्यक्ष कोइरालाले उक्त क्षेत्रको विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।
नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेशमलाल सापकोटा गण्डकीको कान्छो जिल्ला नवलपुरको विकासका लागि विभिन्न आश्वासन आए पनि कार्यान्वयन पक्ष कमजोर रहेको गुनासो गरे ।
देवचुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुषालले उद्योग वाणिज्य सङ्घबीच भाइचाराको सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, उपमहासचिव केशवबहादुर खत्रीलगायतले कोभिड–१९ को प्रकोप र बन्दाबन्दीको समयमा पनि राज्यलाई कर तिरेको स्मरण गर्दै व्यवसाय धरासायी भएका समयमा राज्यले व्यवसायीलाई सघाउनुपर्नेमा जोड दिए ।