काठमाडौंमा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । काठमाडौंमा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण सुरु भएको छ ।

चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् । शुभारम्भका दिन साढे ८ करोड लिटर पानी वितरण भएको थियो ।

चैत मसान्तसम्म परीक्षणका रुपमा साढे ८ करोड लिटर पानी वितरण गरिएको थियो । वैशाख १ देखि १० करोड लिटर पानी वितरण सुरु गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् । अब केही दिनमा १४, १५.५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गते सम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।

हाल सुन्दरीजलका पानी दुवै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाकंकाल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पु¥याई वितरण सुरु भएको छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पु¥याएर परीक्षणका रुपमा वितरण गरिनेछ ।

सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र १ हजार १ सय किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरको ५ सय धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा करीब ८० हजार नयाँ धारा जडान गरिएको छ । सबै धारामा नयाँ मिटर जडान गर्न लागिएको उनले जाकनारी दिएका छन् । नयाँ धारा जोडिएको स्थानलाई १ सय ६२ क्षेत्रमा विभाजन गरिएको छ ।

यसरी विभाजन गरिएको क्षेत्रलाई ‘सब डिएमए’ नामकरण गरिएको छ । एउटा ‘सब डिएमए’ मा ५ सयदेखि ७ सयसम्म धारा छन् । हाल नयाँ वितरण प्रणालीबाट पानी दिइएको अनामनगर क्षेत्र ‘सब डिएमए’ ४.२.१ मा पर्ने लिमिटेडले जनाएको छ ।

यो १ सय ६२ वटै ‘सब डिएमए’ चक्रपथभित्र पर्छ । यी सबै क्षेत्रमा नयाँ वितरण प्रणालीबाट पानी दिन लिमिटेडले काम गरिरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिएका छन् । यो क्षेत्रमा मेलम्चीको ५ देखि १० प्रतिशत पानी प्रयोग गरी ‘लिकेज टेस्ट’, ‘फ्लसिङ’, ‘सट रन टेस्ट’ र ‘डिस्इन्फेक्सन’ भइरहेको छ । परीक्षणको यो प्रक्रिया पूरा गरेपछि मात्र धारामा नयाँ मिटर जडान गरिन्छ । त्यसपछि नियमित रुपमा धारामा पानी आउँछ । यसका लागि आठ महिनासम्म लाग्ने आयोजनाको अनुमान छ ।

सडकले बिगा¥यो ३० किमी वितरण प्रणाली

मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको ३० किमीको पाइप प्रणाली सडक बनाउँदा बिग्रिएको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएकाले बनाउन लागिएको छ । वितरण प्रणाली पुनःनिर्माणका लागि अर्थ मन्त्रालयमार्फत बजेट माग गरिएको लिमिटेडका सूचना अधिकारी प्रजापतिले बताए । सडक बनाउँदा बिग्रिएको वितरण प्रणाली बनाउन १६ करोड लाग्ने प्रारम्भिक लागत अनुमान तयार भएको छ । यो प्रणाली पुनःनिर्माण नभएसम्म बिग्रिएको क्षेत्रमा पुरानै प्रणालीबाट पानी वितरण हुनेछ ।

महिनामा ३ सय स्थानका सडकमा पानी चुहावट

पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३ सय स्थानसम्ममा चुहावट हुन सक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिएका छन् । सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेका हुन् । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारबाट बजेट माग गर्ने उनले बताएका छन् । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ । छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौंले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताएका छन् । रासस

कमेन्टहरु
Loading...