घरघरमा खानेपानीको धारा पुग्दा पुमाबेसीका स्थानीयमा खुसीयाली

लमजुङ संवादाता । बर्षौैंदेखि खानेपानीको समस्या झेल्दै आएका बेसीशहर नगरपालिका–६ पुमाबेसीका स्थानीयले घरघरमा खानेपानीको सुविधा पाएका छन् ।

पानीको अभावमा तरकारी खेतीबाट बञ्चित त्यहाँका स्थानीयले पानीको सुविधा भएपछि तरकारी लगाउन थालेका छन् । आँगनमै खानेपानीको सुविधा भएपछि पुमाबेसीका नागरिकको दैनिकीमा परिवर्तन आएको छ । बेसीशहर नगरपालिका–६ का अध्यक्ष भोजबहादुर रिमालका अनुसार स्थानीयलाई खानेपानीको समस्या भएपछि एक घर एक धाराका लागि पहल गरिएको हो ।

मानव जीवनका लागि पानी पहिलो प्राथमिकता भएकाले नागरिकको हितका लागि पानीको योजना संचालन गरिएको उनले बताए । खानेपानीको सुविधा पुगेकाले स्थानीयलाई कृषि क्षेत्रमा लाग्न,कृषिमा व्यवसायीकरण गर्न र आयआर्जन बढाउन वडाअध्यक्ष रिमालले अपिल गरेका छन् ।

पानी हरेक चिजका लागि अतिआवश्यक हुने भएकाले खानेपानी योजनामा बजेट विनियोजन गरेको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । नगरप्रप्रमुख अर्यालका अनुसार २४ घर रहेको पुमाबेसी गाउँको १७ घरमा खानेपानीको धारा पुगेको छ । बाँकी घरमा धारा पु¥याउने क्रम रहेको छ ।

बेसीशहर नगरपालिकाको ६ लाख ५० हजार रुपियाँ र स्थानीयको ६४ हजार ९ सय १७ रुपियाँ १८ पैसा बराबरको श्रमदान गरी ७ लाख १४ हजार ९ सय १७ रुपियाँ १८ पैसामा खानेपानीको योजना सम्पन्न भएको हो । खानेपानीबाट पुमाबेसीका १ सय ५६ जना नागरिक लाभान्वित भएका छन् ।

पुमाबेसीबाट १ किलोमिटर टाढा रहेको मुलपानीबाट पानी ल्याएर चौंदीपाखामा २१ हजार घनमिटरको ट्यांकी निर्माण गरिएको छ । ट्यांकीबाट घरघरमा पाइपमार्फत पानी पु¥याइएको हो ।

कमेन्टहरु
Loading...