कोरोना कहरः नेपालगञ्ज उपमहानगरद्वारा विद्यालय बन्द गर्ने निर्णय

नेपालगञ्ज । नेपालगञ्जमा १ हप्तासम्मका लागि विद्यालय बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको दर फेरी एकाएक वृद्धि हुन थालेपछि महानगरपालिकाले शुक्रबारबाट १ हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज बसेको महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले १ हप्ताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिएकी छिन् ।

पछिल्लो १ हप्ताको अवधिमा नेपालगञ्जमा करिब ३ सय ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हरेक दिन संक्रमित वृद्धि हुँदै गए पछि त्यहाँ विद्यालय बन्द गर्नुपर्ने माग उठेको थियो । सोही मागलाई मध्यनजर गर्दै नगर प्रमुख डा.धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला भरीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा भएको निर्णयलाई जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा लैजाने निर्णय समेत भएको छ । यसैबीच नेपालगञ्ज हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन तथा स्वास्थ्य परीक्षणको कार्यलाई थप कडाई गर्ने बैठकमा निर्णय भएको छ ।

अबबाट जिल्लामा मास्कको प्रयोग भएको छ या छैन भन्ने विषयमा समेत अनुगमन हुने भएको छ । स्वास्थ्य मापदण्डको पालना भएको छ कि छैन भन्ने विषयमा अनुगमन गरिने बैठकले निर्णय गरेको हो ।

यता बाँके प्रहरीले कोरोना भाइरस संक्रमणको दरलाई मध्यनजर गर्दै २ मिटर दुरी कायम गर्न, घर बाहिर कामका लागि निस्कँदा अनिवार्य मास्क लगाउन तथा अनावश्यक कामका लागि घरभन्दा बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...