पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता हुने

पोखरा, ४ माघ/प्रथम लुम्बिनी राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगिता हुने भएको छ । नेपाल आर्चरी संघ नेपालले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी पोखरा रंगशालामा माघ ९ देखि ११ गतेसम्म राष्ट्रिय आर्चरी प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । 

संघका अध्यक्ष हरिध्वज तुलाचनले तीन दिनसम्म चल्ने सो प्रतियोगितामा देशका पूर्व इटहरीदेखि पश्चिम कञ्चनपुरसम्मका करिब एक सय जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताए । खुला र स्टाडण्र्ड रिकभ गरी दुई क्याटगोरीमा यो प्रतियोगिता खेलाइने छ ।
प्रतियोगितामा स्टाण्डर्ड रिकभमा थ्रिपिस बेम्बोको धनु तथा टेनिङबो बाट खेलाइनेछ भने खुला रिकभमा आधुनिक मेटलको धनु प्रयोग गरिने प्रतियोगिता संयोजक बसन्त थकालीले बताए । उनले खुला र स्टाण्डर्ड इभेण्टतर्फ महिला एकल, पुरुष एकल, पुरुष समूह, महिला समूह र मिक्स टीम गरी पाँच÷पाँच इभेन्ट्स रहने बताए ।

विजयी टीम तथा खेलाडीलाई पुरस्कारस्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई एशियन गेमको लागि छनौट गरिने प्राविधिक संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा भाग लिन खेलाडी अघिल्लो दिन पोखरा आइसक्ने जनाइएको छ ।  स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराका साथ हुने प्रतियोगिता संचालन गर्न २० लाख ३३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले चार लाख रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम उद्योगी, व्यवसायी, आर्चरी खेलका शुभचिन्तक तथा अन्य स्थानीय संघसंस्थाबाट सहयोग संकलन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

पौराणिक कालमा शिकार खेल्ने हतियारको रुपमा प्रयोग गरिने आर्चरी अर्थात् धनुषवाण द्वापर युगमा लडाइँ गर्न राजा–रजौटाले प्रयोग गर्ने गरेको पाइन्छ । तर पछिल्लो समय आधुनिक हतियारको आगमनपछि यसको प्रयोग कम हुँदै गएको छ । ओलम्पिकमा समेत समावेश यो खेल संरक्षणका लागि पोखरामा २०६० सालमा नेपाल आर्चरी संघ गठन भएको संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका जिल्ला अध्यक्ष बसन्त थकालीले बताए । समय समयमा विभिन्न इभेण्ट्समा यो प्रतियोगिता संचालन गर्दैआएको संघले यसपटक प्रतियोगिताका लागि संयोजन गरेको छ । आगामी अक्टोबरमा चीनमा हुने युथ ओलम्पिकमा यु–१७ बाट पोखराकी आर्चरी खेलाडी रश्मी दर्लामी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछिन् ।

कमेन्टहरु
Loading...