पोखराको आवास गृहभित्र १७ बालबालिका संक्रमित, न्यू भेरियन्टको आशंका

 

रिना थापा

पोखरा महानगरपालिका वडा नम्बर १७ मा गत बिहीबार १७ जना बालबालिका संक्रमित भएपछि स्थिति विकराल बन्दै गएको आशंका छ ।

सालाखाला १४–१५ वर्षका बालबालिका आवास गृहमा बस्दै आएका छन् । गृहका सञ्चालकले दिएको जानकारी अनुसार उनीहरु बाह्य सम्पर्कमा छैनन् । बिहीबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार उक्त वडाका १९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये आवास गृहका १७ जना बालबालिका संक्रमित भेटिएका हुन् ।

वडाध्यक्ष तिर्थराज अधिकारीले संक्रमित बालबालिकालाई गृहमै आइसोलेट भएर बस्न निर्देशन दिएको बताए । तर उनीहरु कसरी संक्रमित हुन पुगे भन्नेबारेमा अधिकारी अनभिज्ञ छन् । त्यसो त गृहका सञ्चालकसमेत यस विषयलाई लिएर हैरान छन् ।

‘मलाई सबै जानकारी छैन तर आवास गृहमा बस्ने केटाकेटीहरुमा संक्रमण पुष्टि भएको हो,’ वडाध्यक्ष अधिकारीले भने, ‘उनीहरुलाई स्वास्थ्य महाशाखाले त्यहीँ स्थानमा आइसोलेशन बनाएर राखिदिएको छ ।’

यसबारे स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले ट्राभल हिस्ट्री नभई आवास गृहमा बस्ने बालबालिकामा संक्रमण देखिएको बताए । ‘बालबालिकाको बाहिर कतै सम्पर्क छैन’ आचार्यले भने, ‘सुरुमा एक बच्चामा सामान्य रुघाखोकी देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।’ आवास गृहमा १९ बालबालिका बस्छन् । जसमध्ये १७ मा संक्रमण पुष्टि भएको हो ।

निशूल्क अध्ययन सुविधा पाएका विद्यार्थीहरु शिशु निकेतन, एसओएसलगायतका विद्यालयमा अध्ययनरत छन् ।

गृहका संचालक भन्छन् ‘संक्रमण कताबाट यसरी फैलियो थाहा भएन, कोही बाहिर गएका छैनन् र बाहिरबाट भेट्न पनि आएका छैनन् ।’ फागुपछि १ जनामा सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । ‘फागुको दिन केही बालबालिका रंग खेल्न बाहिर निस्केका थिए, त्यसपछि लक्षण देखिएको हो’ संचालकले भने ।

स्वास्थ्य अधिकृत आचार्यका अनुसार पोखरामा संक्रमण बढ्दो अवस्थामा छ । उनका अनुसार यो कोरोनाको दोस्रो लहर हो । ‘मास्क लगाउने, सार्वजनिक स्थानमा सर्तकता अपनाउने जस्ता कुरालाई सर्वसाधारणले बेवास्ता गर्दा संक्रमति बढ्दैछन्’ उनको भनाई छ ।

कम उमेरमा देखिएको भाइरस ‘यूके भेरियन्ट’को आशंका
पछिल्लो समय नेपालभर कम उमेर समूहका बालबालिकामा संक्रमण देखिएको छ ।१२ वर्षदेखि १६ वर्षसम्मका उमेर समूहमा देखिएको यो भाइरस एसजिन नेगेटिभ अर्थात् यूके भेरियन्ट भएको आशंका छ ।

पछिल्लो केही हप्ता पोखरामा कोरोना संक्रमितको ग्राफ उकालो लागिरहँदा यसलाई यूके भेरियन्ट भन्न थालिएको छ । बिरौटामा देखिएको संक्रमणले विज्ञको आशंकालाई थप टेवा दिएको छ ।

तर पोखरामा देखिएको भाइरस ‘एस जिन नेगेटिभ’ भनेर भन्न नमिल्ने स्वास्थ्य निर्देशालय गण्डकी प्रदेशका स्वास्थ्य सूचना अधिकारी भोजराज गौतम बताउँछन् । उनले भने ‘यो केवल हल्ला र अड्कलबाजी मात्र हो ।’

गौतमका पोखरा र गण्डकीको ल्याबले हालसम्म ‘जिन सिक्वेसिङ’ प्रमाणित गरेको छैन । ‘यताको ल्याबले अहिले त्यसरी डिटेक्ट गरेको छैन,’ गौतमले भने, ‘हल्ला काठमाडौंमा हो पोखरामा भाइरस पोजेटिभ र नेगेटिाभ बाहेक अन्य केही परीक्षण भएको छैन ।’

बिहीबार पोखराको आवास गृहमा रहेका बालबालिकाको कोरोना पोजेटिभ÷नेगेटिभ मात्र परीक्षण गरिएकाले बिना परीक्षण नयाँ भेरियन्ट भन्न नमिल्ने उनले जनाए ।

 

 

 

कमेन्टहरु
Loading...