१ लिटर डिजेलको २ सय रुपैयाँ तिरेर चलाइन्छ यो ‘सेतो प्लेट’

 

दिपक के श्रेष्ठ

कर्णाली प्रदेशको डोल्पा जिल्ला सुदूरको पनि सुदूर र दुर्गमको पनि अति दुर्गम जिल्ला हो । अधिकांश सरकारी जागिरे डोल्पामा सरुवा हुन नपरोस् भन्ने चाहन्छन् । सरकारी सुविधाको कुरा गर्दा त्यहाँ अरु त कुरै छाडौं प्रमुख जिल्ला अधिकारीले पनि गाडी चढ्न पाउँदैनन् ।

सर्वसाधारण पुराना जीप र ट्रयाक्टरमा थचारिँदै यात्रा गर्दा सिडिओ पनि उनीहरुकै हुलमा मिसिनु पर्ने बाध्यता छ । यही बाध्यतालाई हालका प्रजिअ माधव ढकालले दुर गरेका छन् । डोल्पामा प्रजिअ ढकालले बुधबार खरानी रंगको बोलेरो जीप भित्र्याए ।

‘म डोल्पा सरुवा हुने सूचना पाउँदा यहाँ गाडी छैन भन्ने थाहा थिएन’ प्रजिअ ढकालले भने ‘त्यसपछि म यहाँ आउनेबित्तिकै गाडी भित्र्याउने प्रयास गरे, फलस्वरुप ३ महिनापछि सेतो प्लेट भित्रिएको छ ।’
गाडी ल्याउन सफल भएपछि ढकालले गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

ढकाल भन्छन् ‘आफ्नै सेवा सुविधाकालागि ल्यायो भन्लान् तर यो प्रशासनलाई पूर्वाधार सम्पन्न बनाउने मेरो प्रयास हो ।’ अब एम्बुलेन्स भित्र्याउन अत्यावश्यक भएको उनले बताए ।

डोल्पामा चल्ने मे १ झ १३५ नम्बरको बोलेरो यसअघि पाँचथरको प्रजिअले चढ्थे । उक्त बोलेरो गृह मन्त्रालयबाट २ ठाउँमा तुइनबाट तारिँदै ४ दिनपछि डोल्पा आइपुगेको सहायक प्रजिअ दिनेश शर्माले बताए । ‘पहिलो दिन सुर्खेत, दोस्रो दिन जाजरकोट, तेस्रो दिन रोल्पाको खगानपछि चौथो दिन यहाँ आइपुगेको छ’ शर्माले भने ।

प्रशासन कार्यालयमा पुगेको बोलेरो सञ्चालन गर्न सहज भने छैन । पेट्रोल पम्प नहुँदा स्थानीयले ग्यालेनमा ल्याउने डिजेललाई कार्यालयले लिटरकै २ सय रुपैयाँ तिर्नुपर्नेछ । सहायक प्रजिअ शर्मा भन्छन्, ‘डिजेल महंगो छ, गाडीको सर्भिसिङ र मर्मत गर्न पनि मिस्त्री सुर्खेतबाट झिकाउनु पर्ने बाध्यता छ ।’

डिजेल र पेट्रोलको मूल्य बढी भएकै कारण यात्रुहरुले १४ किलोमिटरको यात्रामा ८ सय रुपैयाँसम्म तिर्न बाध्य छन् ।

 

कमेन्टहरु
Loading...