अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् । उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानको भ्रमण गरेपछि यो नयाँ घोषणा गरेको समाचारमा जनाइएको छ ।

यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए । तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उनले सो कुराको घोषणा गरेको समाचारमा जनाइएको छ ।

उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन सुरु गरिएको १ सय दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौं, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौं ।’

उनले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमित बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिएका छन् । अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्छ । यहाँ अहिलेसम्म २ करोड १५ लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् भने ५ लाख ७० हजारभन्दा बढीको कोभिड १९ बाट ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...