तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन गरेको छ । आइतबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगरक्षेत्रभित्र व्यवसायको कर व्यवस्थापन सहजीकरणका लागि व्यास –२ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि रहेका छन् भने सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ तोकेका छन्।
नगरपालिकाको गत चैत ३० गते आयोजना गर्न लागिएको स्थापना दिवसको सन्दर्भमा आमन्त्रण, प्रकाशनको र व्यवस्थापन तयारीमा भएको प्रगतिबारे समिक्षा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । स्थापना दिवसमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।
बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा खटिएका तथ्याङ्क सङ्कलकहरुलाई धन्यवाद ज्ञापन गर्ने र वडागत सङ्कलित फारम नगरपालिकामा जम्मा गरी आयोगमा प्रवृष्ट गर्न चार जना कर्मचारीलाई कामको अवधिभर काममा लगाउने निर्णय गरेको छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको अधिकार भित्र रही व्यास नगरपालिका भित्र सञ्चालित घरेलु इट्टा उद्योग सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ पारित भएको नगरपालिकाले जनाएको छ ।