कर्णाली प्रदेशमा एमालेका मन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाडौं । सरकारमा सहभागी भएका सबै मन्त्रीलाई कर्णाली प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले तत्काल राजीनामा दिन निर्देशन दिएको छ । आज दलका अध्यक्ष यामलाल कंडेलको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेर प्रदेश सरकारमा सहभागी भएकालाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

बैठक संसद सचिवालयस्थित एमाले दलको कार्यालयमा बसेको थियो ।

एमाले संसदीय दलका नेता कंडेलले बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा दिन आग्रह गरिएको बताएका छन् । नेकपा एमालेबाट प्रदेश सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले समेत नैतिकताका आधारमा राजीनामा दिने उनले विश्वास गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले नैतिकताका आधारमा राजीनामा नदिएको खण्डमा १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आजको नेकपा एमालेको संसदीय दलको बैठकमा पार्टीका १९ जना प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो ।

आज बसेको एमाले संसदीय दलको यस्तो निर्णयसंगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया समेत सुरु भएको छ । बैठकले ३ सदस्यीय दलको विधान संशोधन कार्यदल पनि गठन गरेको छ । कार्यदल गुलाबजंग शाहको नेतृत्वमा गठन गरिएको हो । शाह नेतृत्वमा गठन भएको कार्यदलको अन्य सदस्यमा मीना रखाल ताथ कबीर शाही रहेका छन् ।

कमेन्टहरु
Loading...