एजेन्सी । इन्डोनेसियामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४४ पुगेको त्यहाँको प्रशासनले आइतबार जनाएको छ । इनडोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’ का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको पुष्टि पारेका छन् । यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा २० रहेको र ५ बेपत्ता भएको उल्लेख गरिएको थियो ।
स्थानीय समयअनुसार बिहानै १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको बताइएको छ । कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणमा जनाइएको छ ।
घटनामा परी घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुंगा ठूलो पानी जहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका १७ जनाको खोजी जारी रहेको बताएका छन् । रासस