ताइवान रेल दुर्घटनाबाट देशभर शोक, १ दशकयताकै भयानक दुर्घटना

एजेन्सी । ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बा बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।

छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५ सयभन्दा बढी मानिस सवार थिए । तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नै लाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो । पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ । उद्धारकर्ताले सुरुङभित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बा कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको ८ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, उद्धारकर्मी चाङ जि–चेनले बताएका छन् ।

ताइवानको गृह मन्त्रालयले देशभर ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इंग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेलाई भेटेका थिए । उक्त दुर्घटनामा परेका १ सय ७५ जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकमा १ जना फ्रान्सेली नागरिक पनि रहेका थिए । दुर्घटनामा परेकाले आफूले भोगेका निकै डरलाग्दा कथा सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै १ पीडितले आफूले मानिसका शरीर र अंग छरपस्ट देखेको बताएका छन् ।

ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको ज्यान गएको थियो । सन् १९९१ मा २ वटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै १ सय १२ जना गम्भीर घाइते भएका थिए । रासस

कमेन्टहरु
Loading...