म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।
पछिल्लो ५ वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा २ कोठे, ९ वटा ३ कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएका छन् ।
‘चालू आर्थिक वर्ष २०७७/७८ मा ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।’ उनले भने, ‘२२ वटा शौचालय र २ वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।’ उनका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा २८ करोड ७४ लाख ६५ हजार १ सय ५३ खर्च भएको छ । यसैगरी शौचालयमा ३ करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा ५७ लाख ५० हजार ८ सय २० खर्च भएको छ ।
भूकम्पले क्षति पुगेका १ सय ५ विद्यालयका ३ सय ४४ कक्षाकोठामध्ये १ सय ७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १ सय ७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ ।
सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगंगा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताए । प्राधिकरणले ४ कोठे भवनलाई ७० लाख ४० हजार, ३ कोठेलाई ३५ लाख ८० हजार, २ कोठेलाई २३ लाख ९० हजार, शौचालयलाई १५ लाख र खानेपानी आयोजनालाई ७ लाख ४० हजारका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो ।
टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ । वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महीनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताएका छन् । विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत् भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् । रासस