लमजुङ संवादाता । लमजुङमा चैत २० गतेबाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ ।
स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा १२ औं पटक औषधी खुवाउन लागेको हो । जिल्लाका १ लाख ५९ हजार ८ सय ७८ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।
उनका अनुसार २ बर्ष मुनिका बालबालिका, गर्भवती, औषधी खान नहुने समूहबाहेक सबैलाई औषधी खुवाइँदै छ । सबैभन्दा धेरै बेंसीशहर नगरपालिकाका ३९ हजार ८ सय १८ जना, सुन्दरबजार नगरपालिकाका २५ हजार ८ सय ६४ जना, मध्यनेपाल नगरपालिकाका २२ हजार ३ सय ५ जनालाई खुवाउने लक्ष्य रहेको छ ।
यस्तै, दोर्दी गाउँपालिकाका १७ हजार १४ जना, मस्र्याङदी गाउँपालिकामा १७ हजार ८ सय ७, राइनास नगरपालिकामा १७ हजार ३ सय ८६ जना, दूधपोखरी गाउँपालिकामा १० हजार २ सय ३१ जना, क्व्होलासोंथर गाउँपालिकामा ९ हजार ४ सय ५३ जनालाई खुवाउने लक्ष्य रहेको छ ।
हात्तिपाइले रोग विरुद्ध औषधी खुवाउने अभियान चैत महिनाभर सञ्चालन हुने छ । कार्यक्रम अन्तर्गत ३ सय ६५ वटा बुथ हुने छ । ३ सय ९१ जना स्वास्थ्यकर्मी परिचालन हुनेछ ।
महिला स्वास्थ्य स्वयंसेवक ६ सय ६९ जना खटिने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सामान्यतया निरन्तर ६ बर्ष औषधी खाएमा औषधी सेवन कार्यक्रम सकिने भएपनि २/२ बर्षको फरकमा सर्भे गर्दा चौथों पटक पनि फेल भएकाले पुन खुवाउन लागिएको हो ।
रोग सर्ने दर १ प्रतिशत भन्दा कम भएमा निवारण भएको मानिने गरेपनि लमजुङमा १ प्रतिशत भन्दा बढी भएकाले पुनः औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।