क्यालिफोर्निया गोलीकाण्डमा ४ जनाको ज्यान गयो

एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित १ कार्यालयमा बुधबार भएको गोलीकाण्डमा १ जना बालक सहित ४ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या २ साताभित्रै भएको देशकै तेस्रो घटना हो । घटनास्थलमा अपराह्न ५.३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताएका छन् । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिएका छन् ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा १ बालक र १ महिला निकै गम्भीर रहेका जनाएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् ।

अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब १ लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिएका छन् । त्यसबखत १ जना ४१ वर्षीय आर्टुरो रियेज टोरेजले १ प्रहरी सहित ४ जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि ज्यान गएको थियो ।

गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको १ साताअघि मात्र एटलान्टाका ३ वटा मसाज पार्लरमा गोली हानेर ६ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो । रासस

कमेन्टहरु
Loading...