दिपक के श्रेष्ठ
सात बुँदे माग पुरा गर्न दिएको अल्टिेमेटम सकिएपछि नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेमनारायण अर्यालको कक्षमा तालाबन्दी गरेको छ ।
नेविसंघ पोखरा विश्वविद्यालय मूल इकाई समितिले मागप्रति गरेको बेवास्ताले विद्यार्थीहरुको भावनामाथि खेलवाड गरेको जनाएको छ । तालाबन्दीपछि इकाईका सभापति फिरोज सुवेदीले माग पुरा नहुञ्जेल पोविका पदाधिकारीहरुले प्रयोग गर्ने सवारीसाधमा समेत रोक लगाएको बताए ।
इकाईका उपसभापति असिम सुवेदीका अनुसार माग सम्बोधन नभएसम्म उपकूलपतिको कार्यलय बन्द र उपकूलपति, रजिस्ट्रार, डीन, डाइरेक्टरहरुको सवारीसाधन प्रयोगमा समेत रोक लगाइएको छ ।
विद्यार्थीहरुले राखेको मागमा अनलाइनमार्फत भरिएको फारामलाई स्वीकृति दिनुपर्ने, शैक्षिक क्यालेण्डरअनुरुप शैक्षिकसत्र सञ्चालन गर्नुपर्ने, तुरुन्त रजिष्ट्रार नियुक्त गर्नुपर्ने, निर्धारित समयमै दीक्षान्त समारोह गर्नुपर्नेलगायतका माग रहेका छन् ।
विद्यार्थीका माग र तालाबन्दीबारे जिज्ञासा राख्न खोज्दा उपकूलपति प्राडा अर्यालले अहिले मिटिङमा रहेकाले थप कुरा गर्न नसक्ने बताए ।
यसअघि संघले गत १० गते माग पुरा गर्न पोवि प्रशासनलाई ४८ घण्टाको समय दिएको थियो । उक्त समय बिहीबार बेलुका सकिएलगत्तै संघले तालाबन्दी गरेको हो । तालाबन्दीसँगै उपकूलपतिको ढोकामा विज्ञप्ती टाँसेर संघले घटनाबारे प्रष्ट्याएको छ ।