बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको १ करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो ।

अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको १ करोड विगत ६ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘बीमाले अस्पताललाई रकम भुक्तानी नगर्दा औषधि खरिद प्रक्रिया अगाडि बढाउन सकेका छैनौं ।’ डा श्रेष्ठले भने, ‘केही दिनभित्र रकम भुक्तानी नभए उपचार केन्द्रमा औषधि अभाव हुने भएको छ ।’ उनले अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन आग्रह गरेका छन् ।

उपचार केन्द्रले फार्मेसीलाई नै औषधिवापतको ८० लाखभन्दा बढी भुक्तानी दिन बाँकी छ । ‘पहिलाकै पैसा दिनसकेका छैनौं, बीमावापतको रकम आए त्यो भुक्तानी गरेर थप औषधि खरिद गर्ने योजनामा छौं ।’ डा श्रेष्ठले भने । औषधि आपूर्तिकर्तालाई औषधि पठाउन आग्रह गरे पनि पहिलेकै भुक्तानी बाँकी भएकाले आपूर्तिकर्ताले पनि औषधि पठाउन मानेको छैन ।

अस्पतालमा दैनिक २ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ९० प्रतिशत बीमा गरेका बिरामी आउँछन् । ‘बीमाको रकम नपाउने समस्या देशभर नै हो, बीमा कार्यालयमा बुझ्दा जनशक्ति नभएर भुक्तानी दिन नसकेको भन्ने जवाफ आउँछ ।’ उनले भने । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

५० शैयाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७ सय ४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा ३ विशेषज्ञ र ९ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा सुरु गरेको छ । अस्पतालमा बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ । मेजर शल्यक्रिया र ५ शैयाको सघन उपचारकक्ष सञ्चालनको तयारी गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालको थप सुधार र विकासका लागि गुरुयोजना पनि बनाइएको छ । गुरुयोजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीले जानकारी दिएका छन् । ‘गुणस्तरीय सेवा प्रवाहका लागि उपचार केन्द्रलाई पूर्वाधार अभाव पनि छ, सेवासुविधा विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।’ भण्डारीले भने । रासस

कमेन्टहरु
Loading...