लमजुङ संवादाता । मालपोत कार्यालय लमजुङले आउँदो बैशाख दोस्रो सातादेखी भू–सेवा केन्द्र सञ्चालन गर्ने भएको छ।
मालपोत कार्यालयमा आएर जग्गा सम्बन्धी कारोवार गर्ने सेवाग्राहीहरुलाई छिटोछरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्न यो सेवा शुरु गर्न लागिएको मालपोत कार्यालय लमजुङका प्रमुख इश्वरकमल श्रेष्ठले बताए ।
अब स्थानीय तहले भू–सेवा केन्द्र सञ्चालन गर्ने भएपछि लेखापढी व्यवसायीको एकाधिकार अन्त्य हुने र सेवाग्राहीले सर्वसुलभ रुपमा सेवाग्राहिले सजिलै सेवा पाउनेछन् ।
मालपोत कार्यालयले स्थानीय तहलाई भू–सेवा केन्द्र सञ्चालन गर्न दिएपछि आफ्नै वडा तथा नगरपालिकाबाट प्रारम्भिक काम गर्न सक्नेछन् ।
हालसम्म सेवाग्राहीले लेखापढी व्यवसायीमार्फत सेवा लिँदै आएकोमा अब भू–सेवा केन्द्र सञ्चालन भएपछि भने योग्यता पुगेका जो कोहीले सेवा केन्द्र सञ्चालन गर्न पाउनेछन् ।
यो सेवा केन्द्र स्थानीय तह, संस्था र व्यक्ति जो कोहीले आफै सञ्चालन गर्न पाउने उनले बताए । भु–सेवा केन्द्र सञ्चालनमा आएपछि मालपोत कार्यालयमा दिनभरी भिड लगाएर बस्नु पर्दैन ।
धेरै काम अनलाइनबाटै गर्न सकिन्छ । मालपोत कार्यालयले भू–सेवा केन्द्रमाफर्त सेवा दिन थालेपछि लिखित कागजको काम बन्द हुनेछ ।