शहिद बिजय ढकालको ९ औ स्मृति सभा सम्पन्न ढकालको योगदानलाई बिर्सन नहुनेमा जोड

पोखरा २९ पुस/जनयुद्धको क्रममा तत्कालिन शाही सेनाद्धारा मारिएका सहिद बिजय ढकालको नवौ स्मृति दिवस मनाईएको छ । बिजय ढकाल सहिद स्मृति प्रतिष्ठान र एनेकपा माओवादी कास्कीद्धारा पोखराको सहिदचोकमा आयोजना गरिएको स्मृतिसभामा वोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य झलकपाणी तिवारीले जनयुद्धका सहिद, बेपत्ता , घाइतेको योगदानलाई पार्टीले कहिलेपनि विर्सन नहुने वताए ।

शहिद बिजय ढकालको ९ औ स्मृतिमा दिप प्रज्जलन
शहिद बिजय ढकालको ९ औ स्मृतिमा दिप प्रज्जलन

जनयुद्धका वेलामा सहादत प्राप्त गरेका बिजय ढकालको पार्टीमा अभाव खड्किरहेको वताउदै उनले देखाएको बाटोलाई पार्टीले कहिलेपनि नछाडी अगाडी वढीरहने वताए । यतिवेला एमाओवादी चुनावी माहोलमा पछाडि परेको भएतापनि सहिद तथा बेपत्ताहरुको पक्षमा सधै अग्रगामी भूमिका निर्वाह गर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा वोल्दै भर्खरै सभासद बनेकी नेत्री तेजकुमारी पौडेलले स्वर्गीय ढकालको योगदान पार्टीका लागी महत्वपूर्ण भएको र उनको सपना साकार पार्नका लागी एकीकृत माओवादी लागीपर्नुपर्ने वताउदै आफुले सदनमा सहिद तथा बेपत्ता परिवारको पक्षमा आवाज बुलंद पार्ने वताइन ।

कार्यक्रममा वोल्दै बेपत्ता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेलले राजनैतिक दलहरुले जनआन्दोलनको क्रममा सहादत भएका र बेपत्ता भएकाहरुको पक्षमा केही नगरेको वताउदै राजनैतिक दलहरुले उनीहरुको अवस्थाको वारेमा जानकारी गराउनुपर्ने वताइन । उनले भनिन बेपत्ताको स्थिती के छ भनेर सम्पूर्ण राजनैतिक दलका नेताहरुलाई सोधी खोजी गर्दापनि काम हुदैछ भन्छन त्यसो भनेको पनि यतिका वर्ष भइसक्यो तर कोहीकसैले वास्ता गरेनन । यसरीनै हामीलाई दिनरात रुवाएर किन राजनिती गर्छौ किन नेता बन्छौ ? म जस्तै हजारौ आमाका आंसुले तिमीहरुलाई पिरोल्ने छ धेरै नरुवाउनु ।

त्यस्तै बिजय ढकालकी वहिनी बन्दना ढकालले आफ्नो परिवार जनआन्दोलनको पक्षमा लागेर त्याग गरेको भएतापनि पार्टीले कहिल्यै शहिद परिवार तथा बेपत्ताको वारेमा केही गर्न नसकेकोमा दुख ब्यक्त गर्दै आगामी दिनमा आफ्ना बावु र दाजुको उद्देश्य अनुरुप मुलुक परिवर्तनको पक्षमा लाग्न सम्पूर्णलाई आग्रह गरिन । उनले भनिन हामी मुलुक परिवर्तनको पक्षमा जनयुद्धमा लागेका थियौ मुलुकमा शान्ति आएकोपनि यतिका वर्ष भइसक्यो तरपनि दाजुले देखाएको बाटोलाई भुल्दै गएको महशुस हुन थालेको छ यस्तै होभने मेरा दाजु र बाबाको रगतले सराप्नेछ । त्यसैले पार्टीले शहिद र बेपत्ताको पक्षमा आवाज बुलंद गर्न जरुरी छ ।

एकीकृत माओवादी कास्कीका लालमोहन तिवारी सागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डाक्टर भवानी प्रसाद पाण्डे, प्रगतिशील लेखक संघका पूर्व उपाध्यक्ष हरिहर खनाल, मानवअधिकारवादी नेता टेकनाथ वराल लगायतले शहिद बिजय ढकालको योगदानलाई भुल्न नहुनेमा जोड दिएका थिए । स्याङ्गजाको सतौ ठूलापंधेरा टोड्केमा २०३३ साल साउन ३ गते जन्मिएका ढकालको २०६१ साल पुस २९ गते कास्कीको साम्मी मैदानमा तत्कालिन शाही सेनाले निर्ममतापूर्वक हत्या गरिएको थियो । ढकालको स्मृतिमा मैनबत्ती प्रज्वलन समेत गरिएको थियो ।

कमेन्टहरु
Loading...