एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि तीव्र वृद्धि हुदै गएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९ सय ५३ जना संक्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६ सय ५३ जना संक्रमण भएका छन् । संक्रमणमुक्त भएकाभन्दा थप संक्रमितको संख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल १ करोड १५ लाख ५५ हजार २ सय ८४ जना कोरोनाबाट संक्रमित भएको जनाएको छ । ती मध्ये २ लाख ८८ हजार ३ सय ९४ जना अझै पनि संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
भारतमा कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ५९ हजार ५ सय ५८ जनाको ज्यान गएको छ । ती मध्ये १ सय ८८ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको हो । कोरोना भाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६ सय १ जना संक्रमित भएका छन् । सोही अवधिमा ५८ जनाको ज्यान गएको छ । रासस