काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भए पनि सर्वोच्च अदालतले त्यसलाई पुनःस्थापना गरिदियो । त्यसपछि अन्य राजनीतिक दलले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा भए पनि राजीनामा दिन्छन् भन्ने भन्ने सोचिरहेका थिए । तर भइदियो ठ्याक्कै उल्टो । प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् । उल्टो उनले झन् अन्य दललाई सकिन्छ भने आफूलाई प्रधानमन्त्रीको पदबाट हटाएर देखाऊ भन्दै चुनौती दिए ।
प्रधानमन्त्री ओली झुक्ने सम्भावना देखिएन । उनको चुनौती पश्चात् उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था सिर्जना भयो । फागु २३ गते सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेर एकीकरण गरेर बनेको पार्टी नेकपालाई खारेज गरिदियो । फागुन २३ गते सर्वोच्चको यो निर्णय नआएको भए फागुन कै तेस्रो साताभित्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । तर सर्वोच्चको यो निर्णयसंगै प्रस्ताव ल्याउन अन्य राजनीतिक दलले सकेनन् ।
त्यस यता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि ल्याउने विषयमा नेपालका प्रमुख राजनीतिक दलबीच छलफल तथा वार्ता भए पनि ल्याउन सकेका छैनन् । यही विषयमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच सहमति जुटाउने प्रयास जारी छ । तर सहमति जुट्न सकेको छैन । अहिले ३ वटै दलको रणनीति भनेको नै एकअर्काको निर्णयलाई नियाल्नु बनिरहेको छ । कसले के कदम उठाउँछ भन्दै उनीहरुले उपयुक्त समेत पर्खिरहेका छन् । संसदमा हाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ६३ तथा माओवादी केन्द्रको ५३ र जनता समाजवादी पार्टीको ३४ सिट छ ।
जनता समाजवादीमा सरकारलाई साथ दिने कि नदिने या नयाँ समीकरण गरेर अगाडि बढ्ने विषयमा नै विवाद छ । पार्टीका शीर्ष नेताबीच नै मत बाझिएको छ । खुलस्त नभए पनि पार्टीको एउटा समुह प्रधानमन्त्री ओलीलाई साथ दिने भन्नेमा छ भने अर्को समुह ओलीलाई साथ दिन हुँदैन भनिरहेको छ । सोही विवादका कारण पनि गत बिहीबार बस्ने भनेको पार्टीको कार्यकारिणी समितिको बैठक नबसेर स्थगित भएको थियो । विवाद बढिरहेको अवस्थामा बैठक बोलाइएको भए जसपा विभाजन हुने खतरा रहेको नेताहरुको दावी छ । आवश्यक तयारी गरेर बैठक राख्ने केही नेताले बताएका छन् । पार्टीको वातावरण अनुकुल बनाउने उनीहरुको तयारी छ ।
जसपा नेता राजकिशोर यादव भने पार्टीमा सत्ता समीकरणलाई लिएर कुनै विवाद नभएको दावी गर्छन् । हालको अवस्थामा जसपा सत्ता समीकरणका लागि निर्णायक भए पनि कांग्रेसबाट औपचारिक प्रस्ताव आउनुपर्ने उनको भनाई छ । कांग्रेसबाट औपचारिक प्रस्ताव नआएकाले परिपक्क हुन नसकेको उनले बताए । उनका अनुसार कांग्रेस तथा माओवादी केन्द्रसंग अनौपचारिक छलफल भने निरन्तर भइरहेको छ । जसपामा सत्ता समीकरणलाई लिएर कुनै विवाद नभएको र विभाजन आउने अवस्था समेत नभएको उनले दावी गरेका छन् ।
यता कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अबको केही दिनमा ल्याउने दावी गरेको छ । पार्टी महामन्त्री शंशाक कोइरालाका अनुसार अबको १० दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव गरेर उनलाई हटाइने र कांग्रेससहित माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले ३ वटा दलको तयारीका विषयमा गहिरो तरिकाले सोचिरहेको जस्तो देखिएका छन् । उनीहरुको रणनीतिलाई बुझ्न उनले विभिन्न चाल चलिरहेका छन् । पछिल्लो पटक प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको खुलेको थियो । आफूलाई बिहीबार प्रधानमन्त्रीले फोन गरेर प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ठाकुरले पार्टीका शीर्ष नेतालाई सुनाएका थिए ।
सर्वोच्चको फैसला पछि माओवादी केन्द्रले सरकारको विषयमा कुनै निर्णय लिन सकिरहेको छैन । उसले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनिरहे पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । पार्टीले जनता समाजवादी पार्टीको निर्णय कुरिरहेको बताएको छ ।