काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा २ करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ ।
पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, ‘पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा २ करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौं, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कंक्रिटको कमल राख्दैनौं, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।’
पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको ४ कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी ५ वटा मण्डप रहने बताएका छन् । वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब ६ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ ।
कमलपोखरीमा९ वटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिंगटीका छानायुक्त संरचना हुनेछन् ।
पोखरीमा ५ वटा मकरधारा निर्माण गरिने योजना छ । रासस