एजेन्सी । फिलिपिन्समा पछिल्ला केही हप्ता यता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ ।
यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार त्यहाँको सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ । सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीलाई बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ ।
सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि १ कार्यदल बनाइएको छ । सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा १ दिनमा बढीमा १ हजार ५ सय जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ । यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारी, कूटनीतिज्ञ, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।
फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यात्रा प्रतिबन्ध लगाइएको हो । मंगलबार मात्र यहाँ ५ हजार ४ सय जना संक्रमित भेटिएका छन् । यहाँ कोभिडको नयाँ प्रजातिको संक्रमण बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । रासस