म्यानमारको अवस्था नाजुक बन्दै

एजेन्सी । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १ सय ३८ जनाको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको ज्यान गएको जानकारी दिएका छन् । उनले यी हत्याकाण्ड यांगुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसंघीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताए । म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।

उनले भने, ‘राष्ट्रसंघ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लंघन भइरहेकामा राष्ट्रसंघ निन्दा गर्दछ ।’

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन् । यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शन भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

यसैबीच, जापानको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । रासस

कमेन्टहरु
Loading...