बलेवा । गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिएको छ । ३ वर्षदेखि सञ्चालित कार्यक्रमले नमूना प्रदेश बन्ने लक्षण देखिएको योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले दावी गरेका छन् । यसका लागि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता, प्रदेश गौरवका आयोजनामा थप लगानी तथा वातावरण संरक्षणका अभियान चलाउने उनले बताएका छन् ।
बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँगको छलफलमा उहाँले विकासको नमूना बनाएर देशकै नमूना बन्ने योजनामा सफलता मिल्दै गएको समेत दावी गरे । उनका अनुसार आगामी २०८७ सालसम्ममा गण्डकीले औसत आयु ८० वर्ष पु¥याउने, ५ वर्षमुनिका बाल मृत्युदर २३ बाट ७ मा झार्ने, साक्षरतादर ९८ प्रतिशत पु¥याउने र बेरोजगारी घटाएर २ प्रतिशतमा झार्ने अति महत्वकांक्षी लक्ष्य राखिएको छ ।
कूल गरिबी १८ प्रतिशत हुँदा गण्डकीमा १४ प्रतिशत मात्रै छ । विद्युतको पहुँच शत्प्रतिशत जनतामा पु¥याउने र कृषिको उत्पादकत्व प्रतिहेक्टर ५ टन पु¥याउने लगायतको लक्ष्य राखिएको छ । प्रदेशले आठवटा विकासका मेरुदण्ड बनाएको उनले बताएका छन् । तीमध्ये मुग्लिङ – दमौली, पोखरा– कुश्मा, बागलुङ –बुर्तिवाङ, कोरला –जोमसोम, बेनी –पाखेरा, भीमाद –दुम्कीवास हुँदै त्रिवेणी विकास लक्ष्य छ । यसैगरी अर्मादी सेतीवेणी मिर्मी देउघाटतर्फको शालिग्राम सांस्कृतिक विकासका काम पूरा गर्ने अवस्थामा पुगिसकेको छ ।
बेनीघाट, सिर्दिबास सामागाउँ रुइलाभञ्ज्याङ, पोखरा चक्रपथ र महानगर वरिपरिका स्याटलाइट सहरका रुपमा विकास गर्ने दोस्रो विकास लक्ष्य बनाएको उनले जानकारी दिएका छन् । सुनौली पोखरा सिद्धार्थ लोकमार्गलाई आर्थिक करिडोरका रुपमा विकास र चारवटा अन्तरराष्ट्रिय विमानस्थल बीचको बृहत्तर आर्थिक क्षेत्र निर्माण गर्ने योजना आयोगको छ । यसका लागि पोखरादेखि निजगढ, काठमाडौं र भैरहवा उडानसमेत सुरुआत भइसकेको छ । प्रदेश सरकार गठन भएपछि १ सय ३७ किमी सडक कालोपत्र र २ सय ९२ किमी ग्राभेल भएको तथ्यांक छ । त्यस्तै चालु वर्षभित्र २ सय ३७ किमी कालोपत्र गर्ने, ३ सय ४२ किमी ग्राभेल गर्ने योजना आयोगको छ ।
‘निर्वाचन क्षेत्र सडकअन्तर्गत चालु वर्ष ३५ वटा सडकको ३ सय ३६ किमी कालोपत्र र ३५ किमी स्तरोन्नति हुनेछ ।’ उनले भने, ‘प्रादेशिक (क) वर्गका १२ सडक आयोजनामध्ये ७० किलोमिटर कालोपत्र र २२ किमी ग्राभेल भइरहेको छ ।’ गत वर्ष ३ खर्ब ८ अर्ब कूल ग्रार्हस्थ्य उत्पादन रहेको गण्डकीमा अहिले बढेर साढे ३ खर्ब पुगिसकेको उनले बताएका छन् ।
गण्डकीमा विद्युतमा पहुँच भएका ८२ प्रतिशतबाट बढेर ८७ प्रतिशत घर पुगेका छन् । १ हजार १ सय ५ घरमा ७५ प्रतिशत सहुलियतमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी सोलार बत्ती बालिएको बताइएको छ । ‘एक घर एक खानेपानी’ आयोजनामा पनि प्रदेशले उल्लेख्य सुधार गरेको छ । यसका लागि २ सय ४३ आयोजनाबाट ५५ हजार ६० घरमा निजी धारा जडान भइसकेको हो ।
आधारभूत खानेपानी सेवा पु¥याउने प्रदेश सरकारको लक्ष्य नजीक पुगेको उपाध्यक्ष शर्माको भनाई छ । चालु वर्ष १ सय २६ आयोजना निर्माणाधीन र ७६ वटा आयोजना मर्मतको काम भइरहेको छ । जनता आवासतर्फ १ हजार ३ सय २० घर निर्माण भएर हस्तान्तरण गरिएको छ । ११ बहुउद्देश्यीय सभाहल निर्माणाधीन र ३ वटा निर्माण सम्पन्न भइसकेका छन् ।
गण्डकी विश्वविद्यालय, प्राविधिक प्रतिष्ठान स्थापना तथा मनाङ, म्याग्दी र मुस्ताङमा ५ वटा नमूना विद्यालय छात्रावाससमेत बनेको शिक्षाको गौरवका रुपमा लिइएको छ । चालु वर्ष नै ३ वटा आंगिक क्याम्पसको विज्ञान प्रयोगशाला र पुस्तकालय पनि बनाइएको छ । उनले बागलुङमा आयोजित कानुन व्यवसायीका लागि अभिमुखीकरण तालिमका सन्दर्भमा गण्डकी प्रदेशको विकासबारे बताएका छन् । रासस