बर्दियामा बाघ आतंकः चालु आवमा बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाए

टीकापुर । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा २ महिनायता बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो । तर २ महिना यता भने बाघको आतंकले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैं घरभित्र बस्न बाध्य भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतंक मच्चाएको स्थानीयको भनाई छ ।

‘२ महिनायता मात्र धेरैका गाई, भैंसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा १ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।’ गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन्, ‘गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो ।’

बिहीबार मात्र तीन घरुवामा १ जनाको गोठमा बाख्रा खायो र भैंसीको कान चिथोरेको खनालले बताइन् । ‘बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।’ खनालले भनिन्, ‘साँझ ६/७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ ।’ स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए ।

स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन् । बाघको आतंक बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताए । ‘बाली हेर्न र लगाएको आलु लिन गाउँ गएको थिए, डरले २ रात पनि गाउँ बस्न सकिएन ।’ स्वाँरले भने, ‘६÷७ बजे घरभित्र पसिहाल्नुपर्दाे रहेछ । रातभर बत्ती बालेर त्रासमा रात काटें ।’

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि १ महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताए । गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको अध्यक्ष कडायतले जानकारी दिएका छन् । ‘गाउँपालिकाले यसअघि गरेको २ किलोमिटर तारबार प्रभावकारी भएकाले निकुञ्ज र गाउँपालिका मिलेर थप तारबार लगाउने योजना बनाएका छौं ।’ अध्यक्ष कडायत भन्छन्, ‘वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले डेढ करोड बजेट खर्च गर्न लागेको छ ।’

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ । यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाई छ । वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ । गाउँपालिकाले भैंसीका लागि १० हजार, गाई गोरु र बाख्राका लागि ५ हजार राहत दिने गरेको छ ।

बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म ८ जनाको ज्यान गइसकेको तथ्यांक प्रहरीसँग रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका वडा नम्बर ३ की २८ वर्षीया रेनुका सुनारलाई बुधबार बाघले आक्रमण गरी ज्यान लिएपछि ज्यान गुमाउनेको संख्या ८ पुगेको बताएका छन् ।

साथै, हात्तीको आक्रमणबाट १ दर्जनले ज्यान गुमाएको स्थानीयको भनाई छ । त्यसक्षेत्रमा समूह बनाएर वन्यजन्तु नियन्त्रण कार्यक्रम हुने गरेका छन् । यस्ता कार्यक्रममा निकुञ्जले सहयोग गर्दै आएको छ । रासस

कमेन्टहरु
Loading...