राजु गिरी
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार पोखरामा टोल विकास संस्थाको भवन उद्घाटन गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगर वडा ५ स्थित प्रस्याङ टोल विकास संस्था तथा रातामाटा आमा समूहको भवन उद्घाटन गरेका हुन् । पोखरामा आजसम्म टोल विकास संस्थाको भवन उद्घाटन गर्नेमध्येमा तिमिल्सिना ‘हाई प्रोफाइल’मा पर्छन् । अध्यक्ष तिमिल्सिना सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दलबल सहित आएका थिए ।
उद्घाटनकाक्रममा तिमिल्सिनाले राजनीतिक दलहरु अनावश्यक झगडामा उत्रदा मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताए । मुलुकलाई अग्रगमनतर्फ लैजान अबको सरकारले बढी जिम्मेवार भई अघि बढ्न आवश्यक रहेको उनको भनाई थियो ।
राष्ट्रिय राजनीति गञ्जागोल भइरहेकाबेला राष्ट्रिय सभाका अध्यक्ष नै टोल विकासको भवन उद्घाटन गर्न आउँदा धेरैले अचम्म माने । कार्यक्रममा सहभागीमध्ये एकले भने ‘उहाँ (अध्यक्ष)ले उद्घाटन गर्दा संस्थाको गरिमा बढ्यो होला, तर उहाँको कद भने घटेको छ ।’ आफ्नो मर्यादाको ख्याल राख्नपर्ने उनको टिप्पणी छ ।
उद्घाटन समारोहमा अध्यक्ष तिमिल्सिनासँगै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद बिन्दु शर्मासमेत उपस्थित थिए । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली हुन् । नेपाली महानगरका प्रवक्ता पनि हुन् । पार्टीकै पहुँचमा तिमिल्सिनालाई उद्घाटन गर्न बोलाइएको आंकलन गरिएको छ ।
सोही क्रममा वडाध्यक्ष एवं प्रवक्ता नेपालीले टोल, समाज र देश विकासकालागि मुलुकमा राजनीतिक स्थिरता आवश्यक रहेको आंैल्याएका थिए ।
टोल विकासको भवन पूर्णतः चन्दा र सहयोगमा बनेको हो । भवनको कूल लागत १८ लाख ४६ हजार २५० रुपैयाँ रहेको छ भने भवन निर्माणको काम सक्न अझै बाँकी छ ।
कार्यक्रममा नेकपा एमालेका अधिकांश कार्यकर्ता उपस्थित थिए भने वक्ताहरुले राजनीतिक मन्तव्य राखेका थिए ।