दिपक के श्रेष्ठ
सन् २०१३ मा एशियाली विकास बैंक, नेपालको सहयोगमा ३ महिने प्लम्बिङको तालिम लिएपछि सुस्मिता श्रेष्ठको दिनचर्या फरक भएको छ । पुरुषले गर्दै आएको काम उनले सुरु गरेपछि केही असहज त भयो नै तर त्यो भन्दा बढी उनमा आत्मविश्वास जाग्यो ।
सोही आत्मविश्वासले ८ वर्षपछि उनको जीवनमा व्यापक परिवर्तन आएको छ । यसबीचमा उनले प्लम्बरकै कामबाट नाम र दाम कमाइन् । त्यो भन्दा बढी उनी धेरै महिलाको प्रेरणाको श्रोत बनेकी छिन् । उनले जुन बेला प्लम्बरको तालिम लिँदै थिइन्, त्यतिबेला उनीसँग अभावबाहेक केही थिएन ।
तालिममा सहभागी पुरुषबीच उनी एक्लो महिला प्रशिक्षार्थी थिइन् । ‘मैले दायाँबायाँ केही सोचिन’ श्रेष्ठ भन्छिन् ‘मैले ३ महिनाको पुरै समय केवल तालिममा ध्यान दिए ।’
पुरै ध्यान सिक्न र बुझ्न खर्चिदाको परिणाम उनमा ज्ञान र आत्मविश्वास दुबै बढ्यो । जसको नतिजा आज उनी सिनियर प्लम्बरकोरुपमा चिनिन्छिन् । काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका निवासी श्रेष्ठ हाल चन्द्र सूर्य आम समूहको अध्यक्षसमेत रहेकी छिन् ।
‘मैले जे सिके आफुमै सिमित राखिन’ उनी भन्छिन् ‘अन्य महिला र पुरुषलाई पनि प्लम्बिङ सिकाए, आज उहाँहरुले आयआर्जन गरेको देख्दा खुशी लाग्छ ।’ आफुले सिकाएका प्लम्बरसँग अहिले फुर्सद नभएको उनले जनाइन् ।
प्लम्बिङकै कामबाट उनले छोराले उच्चशिक्षा दिलाइरहेको र काठमाण्डौंमा भर्खरै २ तलाको घर जोडेको उनले सगर्व सुनाइन् । सुमित्राबाट के सिक्ने ? उनको जवाफ छ ‘चुनौतिपूर्ण काम रोज्ने, कामकालागि दक्ष हुने ।’