नागरिकलाई रोग लाग्नै नदिने गण्डकी प्रदेश सरकारको प्राथमिकता

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिइएको बताएकी छन् ।

बेनी अस्पताल परिसरमा स्थापना भएको औषधि बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोगसम्बन्धी शिविरको आज उद्घाटन गर्दै नागरिकलाई रोग लाग्नै नदिन प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन्।

मन्त्री पुनले सचेतना फैलाएर नियमित स्वास्थ्य परीक्षणका साथै प्रमुख स्वास्थ्य चुनौतीका रुपमा देखिएको मुटु, मिर्गौला, अर्बुदरोग, रक्तचापजस्ता रोग लाग्न नदिन र आपत्कालीन अवस्थामा जीवन बचाउने उपाय सिकाउन सरकारले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पु¥याएको बताइन्।

“क्यान्सर, मिर्गौलाजस्ता रोगका बिरामीलाई सरकारले उपचारका लागि रु एक लाख दिने गरेको छ”, उनले भनिन् , “प्रदेश सरकार नागरिकलाई त्यस्ता रोग नै नलागोस् भनेर विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गर्न लागेको छ ।”

प्रदेश सरकारको सहयोगमा टे«ड युनियन महासङ्घको बेनी नगर कमिटीले मजदूर महिलालाई लक्षित गरेर एकदिने पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने निःशुल्क शिविर आयोजना गरेको हो । परीक्षणका क्रममा तीन वर्षपछिसम्म पाठेघरको मुखमा क्यान्सर हुने खतरा छ छैन भन्ने पहिचान गर्न सकिने बेनी अस्पतालका चिकित्सक गोपाल कँडेलले बताए ।

प्रदेश र सङ्घीय सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, रघुगङ्गा गाउँपालिका र बेनी अस्पतालको आन्तरिक स्रोतबाट रु एक करोडको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएको छ । केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेडसम्म पुग्ने व्यवस्था मिलाइएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

लायन्स क्लब अफ बेनी पिस सिटीले अस्पतालको फार्मेसीका लागि औषधि बिक्री कक्ष बनाएको हो । क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगतरुपमा रु तीन लाख ५१ हजार खर्च गरेर प्रिफेक प्रविधिको बिक्री कक्षको भवन निर्माण गरेका हुन् ।

कमेन्टहरु
Loading...