पिकअप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ५ जना घाइते

बाग्लुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा १ जना यात्रुको ज्यान गएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको ज्यान गएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिएका छन् । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाई छ ।

गम्भीर घाइतेमध्ये ३ जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी २ जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित ७ जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा १ जना सकुशल रहेको जनाइएको छ । ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

कमेन्टहरु
Loading...