काठमाडौं । दैलेखमा सवारी साधन दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
जिल्लाको आठबिस नगरपालिका वडा नम्बर १ स्थित स्यालाकोटमा आज कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने १६ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा कालीकोटको नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक तथा सोही जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर १ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही रहेका छन् ।
ज्यान गुमाएकामध्ये १ जनाको घटनास्थल तथा १ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा परेर घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै सोही मिनीबसमा ३ जना प्रहरी समेत सवार थिए । उनीहरुमध्ये प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् ।
चौधरीसहित अनय घाइतेलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सामान्य घाइते भएका केहीको भने स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ ।