पोखरा । बगर भाइ खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन् । ‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नाराका साथ आयोजना भएकोे बुधबार प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ ।
डि वर्गरको जितमा खेलका म्यान अफ दि म्याच भेषराज लिम्बुले १ गोल गरे भने नरेन्द्र लिम्बु र भगवान् थापाले समेत समान १–१ गोल गरे । त्यसै गरी हेटौंडा भेट्रान्स निलोका निमा लामाले २ गोल गर्दा पोखराको बलियो मानिएको अम्बरसिंह ब्वाइज क्लब (एबिसी) ले पराजयको सामना गरेको छ । एबिसीका लागि विजय गुरुङले १ गोल गरेका थिए । खेलमा निमा लामा म्यान अफ दि म्याच भएका थिए । तर अर्को १ खेलमा भने ललितपुरको भेट्रान्स बिबिसीसंग भने हेटौंडा भेट्रान्स रातो पराजित भएको छ । ललितपुरका लागि शुक्र तामाङले १ गोल गरेका थिए । तर खेलमा भने हेटौंडाका गोल रक्षक ज्ञानु क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।
यस्तै हेम्जाको विष्णु पादुका भेट्रान्स क्लबले भने भनिमण्डल ललितपुरसंग ३–१ गोलले पराजय व्यहोरेको छ । भनिमण्डलका लागि रुपेश केसी, तेज धलामी र पाण्डव खत्रीले समान १–१ गोलको योगदान दिएका थिए भने हेम्जाका लागि सान्त्वना गोल महेन्द्रसिंंह थापाले गरेका थिए । खेलमा तेज धलामी म्यान अफ दि म्याच भएका थिए । यस्तै नवलपरासी भेट्रान्सले खुमलटार भेट्रान्स काठमाडौंलाई २–१ ले स्तब्ध पारेको छ । नवलपरासीका लागि दिपक थापामगर र हिराबहादुर गुरुङले समान १–१ गोल गर्दा खुमलटारका लागि लाल बहादुर लिम्बुले १ गोल फर्काए । खेलमा सुमन केसी म्यान अफ दि म्याच भएका थिए ।
पोखरा भेट्रान्सले आजको खेलमाउत्कृष्ट पदर्शन गर्दै नाइट किङ सानो गौचरन क्लब काठमाडौंलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गरेको छ । उद्घाटन खेल जितेको पोखरा भेट्रान्सले खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा खेलेको थियो । नाइट किङका लागि शिशिर विक्रम हमालको १ गोल र पोखरा भेट्रान्सका किशन गुरुङले समान १ गोल गर्दा खेल टाइ ब्रेकरमा पुगेको थियो । खेलमा पोखराका राजु गुरुङ म्यान अफ दि म्याच भएका थिए । काठमाडौंको मिया सान मिया भेट्रान्सले समेत प्रतियोगितामा दोश्रो खेल जितेको छ । उसले
पशुपती भेट्रान्स हेटौंडालाई ३–० ले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच सुन्दर गुरुङले २ र नविन पाण्डेले १ गोल गरेका थिए ।
आज नै हुने भनिएको आयोजक भेट्रान्स र मनाङ मस्र्याङ्दी भेट्रान्सबीचको खेल भने वर्षाका कारण रद्ध भएको प्राविधिक संयोजक खगेन्द्र गुरुङले जनाएका छन् । बिहिबार दोश्रो चरण अन्तर्गतका खेल सञ्चालन हुने उनले बताए ।
तेश्रो दिनको खेलको शुभारम्भ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु शाक्यले गरेका थिए । आजको सबै खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई संस्थाबाट सम्मानित हुने व्यक्तित्व कृष्ण थापा, शम्भु कार्की, दक्ष्यबहादुर गुरुङ, आनन्द रञ्जित, खेम गुरुङले ट्रफी वितरण गरेको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।