यातायातमा इन्टरनेटको सकसः एक घण्टाको काममा १ हप्ताको पर्खाई

 

रिना थापा

मोटरसाइकलको ब्लू बुक नामसारी गर्न लमजुङ मस्र्याङदी गाउँपालिकाबाट बुधबार पोखरा आउन हिँडेका अम्बर सुब्बा गुरुङ त्यसदिन बेशीसहर बास बसे ।

भोलीपल्ट बिहानै बेशीसहरबाट बस समातेर गुरुङ कार्यालय समयमै यातायात व्यवस्था गण्डकी प्रदेश कार्यालय पोखरा आइपुगे । सोही दिन ब्लू बूक पास गरी लमजुङ फर्किेने उनको योजना थियो । जसै यातायात कार्यालय आइपुगे अनि उनी जिल्ल परे । कारण, कार्यालयमा बुधबारदेखि इन्टरनेट चलेको थिएन ।

यातायातको पुरै काम अनलाइन सिस्टममार्फत गरिन्छ । तर इन्टरनेट सेवामा गडबडी भएको थाहा पाएपछि २ दिनमा पोखरा आइपुगेका गुरुङ रनभुल्ल परे । उनको आजको रात साथीको घरमा बित्ने भएको छ ।

‘शुक्रबार पनि इन्टरनेटको समस्या समाधान भएन भने ?’ प्रश्नमा उनले भने ‘खै, मेरो पालो आइतबारमात्रै आउछ भनेका छन्, के गर्ने भन्ने दुविधामा छु ।’ उनले आइतबारसम्म पोखरा बस्ने गरी खर्च नल्याएको सुनाए । तर आइतबार काम हुनेमा उनी शंका व्यक्त गर्छन् । गुरुङ भन्छन् ‘एक साता लाग्ने भयो ।’

दोहो¥याएर पोखरा आउन झनै झन्झटिलो र खर्चिलो हुनेभएपछि गुरुङ येनकेन खर्च जुटाएर काम सक्ने ध्याउन्नमा छन् । ‘आज काम बनेर फर्किहाल्ने सोचेको थिए, त्यही अनुसार जोहो गरेर हिँडेको गाह्रै भयो’ उनी मलिन सुनिए ।

यही मेसोमा भेटिए धादिङबाट आएका नारायण कुमार श्रेष्ठ । उनी मोटरसाइकलको कागजात मिलाउन बुधबारै कार्यालय आएका रहेछन् । बिहीबार पनि काम नबन्ने भएपछि श्रेष्ठ पनि चिन्तित देखिए । ‘तपाइको काम त बागमतीमा हुने हैन र ?’ भनि सोध्दा उनले मोटरसाइकल पोखरामा किनेको बताए । ‘चिनजानको आधारमा पोखरामै मोटरसाइकल किनेर लगे’ श्रेष्टले भने ‘हिजोदेखि यातायात कार्यालय कुर्ने काम भइरा’छ ।’

मोटरसाइकलको ब्लू बुककै काम लिएर पर्वत जलजला ८ का सुनिल क्षेत्री पनि बुधबारदेखि यतै बस्न बाध्य भएका छन् । बुधबार ११ बजे समयमा कार्यालय पुगेपछि उनले इन्टरनेटमा गडबडी भएको सूचना पाए । ‘हिजो एकैछिनमा समस्या समाधान हुन्छ भने’ उनले सुनाए ‘आजसम्म उही चाल रहेछ ।’
इन्टरनेट प्रादायक कम्पनीका कारण बाहिरी जिल्लाबाट आउने सेवाग्राहीले समस्या भोग्नु परेको उनले जनाए । ‘हाम्रो आफ्नै समय, खर्चको योजना हुन्छ, यहाँ आएर यस्तो समस्या भोग्नु पर्दा सुनुवाई गरिदिने कोही हुँदैन’ क्षेत्रीले पीडा पोखे ।
कार्यालयको इन्टरनेटमा बुधबार करिब ११ बजेबाट समस्या देखिएको हो । यातायात कार्यालयमा इन्टरनेटको जिम्मा वल्र्डलिंकले लिएको छ । सेवाग्राहीलाई शूल्क भुक्तान गर्न ग्लोबल आइएमइ बैंकको काउन्टर उपलब्ध छ । बिहीबार इन्टरनेट सेवा सुचारु भएपनि बैंकको काउन्टरमा समस्या देखियो । सोहीकारण सेवाग्राही पुनः मर्कामा परे । बैंकको ४ वटै काउन्टरले सेवा दिन सकेन ।

कार्यालयमा यस्तो समस्या पहिलो पटक भएको प्रमुख डिल्ली रिजालले बताए । तर बैंकको काउन्टरमा पनि समस्या देखिएपछि तुरुन्त समन्वय गरी सेवा प्रवाह गर्ने जनाए । रिजालका अनुसार काउन्टरमा वाइफाइमार्फत काम गरिन्छ । ‘बैंकलाई हामीले वाइफाइ हैन सिधा कनेक्सन राख्न भनेका छौं’ प्रमुख रिजालले भने ।

कास्की बाहिरबाट आएका सेवाग्राही मर्कामा परेको बताउँदै रिजालले यसको विकल्प नभभएको बताए । पुरानो तवरमा कर्मचारी आफैले शूल्क बुझाएर सेवा दिन सम्भव छैन । आरआइएमएस, रेभिन्यु कलेक्सनजस्ता काम कम्प्युटर सिस्टमबाटै गर्नुपर्ने हुन्छ । रिजाल भन्छन्, ‘प्रविधिलाई पूर्णरुपमा अपनाएपछि कहिलेकाही यस्तो समस्या आउनु सामान्य हो, सकेसम्म हामी सेवाग्राहीलाई दुख नदिने योजनामा छौं ।’

 

कमेन्टहरु
Loading...