म्यान्मारमा हिंसा रोकिएन, सेनाको गोली लागेर एकै दिन ३८ जनाको ज्यान गयो

एजेन्सी । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिए यता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीहरुको ज्यान गएको यो पहिलो घटना हो । अनलाइनमा सार्वजनिक तस्बिरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ ।

बुधबारको हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यान्मारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले म्यान्मारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यान्मारमा जारी दमन तत्काल रोक्न आग्रह गरेका छन् ।

सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यान्मारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताएका छन् ।

बिहीबार प्रदर्शनकारीहरुले यांगुन र मन्डाले शहरका साथसाथै अन्य सहर बजारमा जुलुस निकालेका छन् । सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै १ हजार ५ सय प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । सेनाले म्यान्मारकी नेतृ आङ सान सुकी समेत उनको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो संख्याका नेता एवं कार्यकर्ता नजरबन्दमा राखेको छ । रासस

कमेन्टहरु
Loading...