काली मार्सी चामल जापानी बजारमा

खलंगा । जुम्ली मार्सी चामल र अग्र्यानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक ६ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ ।

अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले ३ टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

व्यावसायिक रूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिएका छन् । उनले भने, ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा १ टन मार्सी चामल, मासको दाल, २ टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ ।’

कर्णालीका कृषि वस्तुको व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको यहाँका स्थानीयवासी बताउँछन् । कर्णालीका किसानको जीवनस्तर उकास्नेसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।

क्यानडा निर्यातको अन्तिम तयारी

२० टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

१५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताएका छन् । क्यानडास्थित लायम फुड कर्पोरेसनका डा पूर्ण कँडेलको समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ । ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताएका छन् ।

‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन् ।’ उनले भने, ‘क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।’

काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताएका छन् । रासस

कमेन्टहरु
Loading...